राष्ट्रिय जागरण अभियान कार्तिक ७ गते उद्द्घाटन गर्दै नेकपा

काठमाडौं ६ कार्तिक,
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र जनताको अधिकारको रक्षा तथा आगामी महाधिवेशन र निर्वाचनको तयारीलाई केन्द्रमा राखेर भोलि कात्तिक ७ गतेदेखि ‘राष्ट्रिय जागरण अभियान २०८३’ सुरु गर्ने भएको छ।
अभियानको उद्घाटन पार्टी केन्द्रिय कार्यालय पेरिसडांडा बाट भोलि दिउसो २:३० बजे संयोजक र सह संयोजक सहितको उपस्थितिमा हुने नेकपाले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत जानकारी दिएकोछ ।
कार्तिक ७ गते देखि मंसिर २५ गतेसम्म सञ्चालन हुने यो दुई महिने अभियान देशैभर भव्य रूपमा आयोजना हुनेछ।

अभियानका प्रमुख उद्देश्य तथा कार्यक्रमहरू यसप्रकार रहेका छन्:
राष्ट्र र जनताको हितमा जनसम्बन्ध विस्तार: राष्ट्रविरोधी गतिविधिहरूको भण्डाफोर गर्दै जनतामा देशभक्ति जाग्रीत गर्ने र संविधान तथा लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि भएका संघर्ष, त्याग र बलिदानको उच्च सम्मान गर्दै सामाजिक न्याय र समानता सहितको समृद्ध नेपाल निर्माणमा जोड दिने।
दैनिक जनजीविकाका सवालमा पहलकदमी: जनताका आधारभूत आवश्यकताहरू जस्तै– गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आइपर्ने समस्या समाधानका लागि प्रत्यक्ष सहभागी भई पहल लिने।
संगठन सुदृढीकरण र सदस्यता वितरण:
पार्टीलाई सक्रिय, अनुशासित, जनआधारित र परिणाममुखी बनाउन संगठन सुदृढीकरण अभियानसँगै सदस्यता नवीकरण तथा वितरणको काम तीव्र पारिनेछ।
सुझाव संकलन र जनसरोकार: देश र जनताको अधिकार रक्षा, सामाजिक न्याय तथा समृद्धि प्राप्तिका लागि जनता र नेता-कार्यकर्ताबाट महत्वपूर्ण सुझावहरू संकलन गरिनेछ। समाजमा हुने सबै प्रकारका विभेद, शोषण, अन्याय र बेथितिहरूविरुद्ध दृढ संघर्ष अगाडि बढाइनेछ।
उत्पादन र आत्मनिर्भरता: जनता र नेता-कार्यकर्तालाई उत्पादनसँग जोडी स्वावलम्बी र आत्मनिर्भर बन्न प्रेरित गर्ने तथा सरकारका जनविरोधी कार्यहरूविरुद्ध सशक्त प्रतिरोध गर्ने उद्देश्य अभियानले लिएको छ।
कार्यविभाजन:
यस अभियानलाई सफल पार्न पार्टीका केन्द्रीय सदस्यहरू, प्रदेश सदस्यहरू, साथै जिल्ला तथा स्थानीय तहका सदस्यहरू आ-आफ्नो मतदाता नामावली रहेको क्षेत्रमा खटिने पार्टीले जनाएको छ।
भोलिबाट सुरु हुने यो अभियानले पार्टीपंक्तिलाई जनताको मुद्धामा जोड्नुका साथै राष्ट्रिय राजनीतिमा नयाँ ऊर्जा र जनचेतना थप्ने विश्वास गरिएको छ।



