बाढी प्रभावित क्षेत्रमा वाईसीएलको राहत र श्रमदान अभियान

नेकपाका केन्द्रीय सदस्य राजन दाहाल, वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष पुष्प ओली र नुवाकोट जिल्ला अध्यक्ष जलन गजुरेल नेतृत्वको टोली प्रत्यक्ष कार्यक्षेत्रमा खटिएर अभियानको नेतृत्व गरिरहेको छ।
‘विपद्मा परेका नागरिकहरूको दुःखमा साथ र सहयोगका लागि वाईसीएल नेपाल निरन्तर अभियानमा’ भन्ने मूल संकल्पका साथ सुरु गरिएको अभियानअन्तर्गत आपत्कालीन राहत सामग्री हस्तान्तरण गरिएको छ।
जसअनुसार प्रभावित परिवारलाई ९२ वटा डसना, ९० वटा तन्ना, ५० थान ओढ्ने पोलार, करिब १०० जना बालबालिकाका लागि लत्ताकपडा, २ रोल म्याट, २ दर्जन हर्लिक्स तथा १०० जोर चप्पल उपलब्ध गराइएको छ।
त्यसैगरी पीडित परिवारलाई तत्काल आवश्यक पर्ने चामल, दाल, नुनलगायतका खाद्यान्न, प्राथमिक उपचारका औषधि तथा बालबालिकाका लागि स्टेसनरी सामग्रीसमेत वितरण गरिएको छ।
राहत सामग्री बाँड्ने काममा मात्र सीमित नभई टोलीले उद्धार र सरसफाइमा समेत प्रत्यक्ष श्रमदान गरेको छ। त्रिशूलीस्थित पुरानो बजार क्षेत्रमा बाढीले खण्डहर बनाएका घरहरूमा पुरिएको माटो, हिलो र ढुङ्गा पन्छाउन वाईसीएलका कार्यकर्ताहरू गैँती, बेल्चा र बुटसहित परिचालन भएका थिए।
आपत्कालीन राहत वितरणसँगै आगामी दिनमा पुनर्निर्माण र पुनःस्थापनाको चरणमा समेत स्थानीय समुदाय र राज्य संयन्त्रसँग समन्वय गरी हजारौँ युवाहरूलाई निःशर्त स्वयंसेवामा परिचालन गरिने वाईसीएलले जनाएको छ।



