खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाद्वारा अनलाइन सेवा सुरु

रामेछाप। खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाले आफ्ना सम्पूर्ण सदस्य तथा उपभोक्ताको सहजतालाई मध्यनजर गर्दै विद्युत महसुल भुक्तानीका लागि अनलाइन प्रणाली eSewa मार्फत भुक्तानी गर्न सकिने व्यवस्था सुरु गरेको छ।
यस व्यवस्थासँगै अब संस्थाका सदस्य तथा उपभोक्ताले विद्युत महसुल तिर्नका लागि अनिवार्य रूपमा महसुल केन्द्रसम्म पुग्नुपर्ने बाध्यता हटेको छ। उपभोक्ताले आफ्नो सुविधाअनुसार तीनवटा विकल्पबाट विद्युत महसुल भुक्तानी गर्न सक्नेछन्।

संस्थाले उपलब्ध गराएको नयाँ व्यवस्थाअनुसार उपभोक्ताले पहिलो विकल्पका रूपमा घरमै बसेर eSewa मार्फत अनलाइन भुक्तानी, दोस्रो विकल्पका रूपमा मिटर रिडिङका लागि कर्मचारी घरमा आएका बेला महसुल भुक्तानी र तेस्रो विकल्पका रूपमा विगतमा जस्तै महसुल केन्द्रमा उपस्थित भएर भुक्तानी गर्न सक्नेछन्।
अनलाइन भुक्तानी सेवाले उपभोक्ताको समय र श्रम बचत गर्नुका साथै महसुल भुक्तानी प्रक्रियालाई थप सहज, सरल र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको सस्थाको संन्चालक समिती सदस्य रोशन कार्कीले बताय। संन्चालक कार्की भन्छन विशेषगरी टाढाका बस्तीमा बसोबास गर्ने, व्यस्त रहने तथा महसुल केन्द्रसम्म पुग्न कठिनाइ हुने उपभोक्तालाई यस सेवाबाट लाभ पुग्ने विश्वास गरिएको छ।
आधुनिक युगको समयअनुसार प्रविधिको प्रयोग गर्दै सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले संस्थाले यो व्यवस्था ल्याएको उनले बताय । यसले उपभोक्तालाई आफ्नो अनुकूलताअनुसार महसुल तिर्ने सुविधा प्रदान गर्नेछ।

अब विद्युत महसुल तिर्न लाइन बस्नुपर्ने बाध्यता होइन, आफ्नो सुविधाअनुसार भुक्तानी गर्ने विकल्प!
खिम्ती ग्रामीण विद्युत तथा सहकारी संस्थाले सम्पूर्ण सदस्य तथा उपभोक्तालाई उपलब्ध भुक्तानी विकल्पको उपयोग गरी समयमै विद्युत महसुल भुक्तानी गर्न अनुरोध गरेको छ।



